Saturday, March 24, 2012

मेरो शहर कति झल्ला छ ।

 
 
यहाँ
खसिको मासु पाईन्छ भन्ने ठाउमा
बुढी बाख्री काटिन्छ
भागवानको घरमा नयाँ जुता
पुरानो जुता सँग साटिन्छ
हरेक दिन
नयाँ कुराको हल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ ।

यहाँ
काम नगर्नेहरु बाट नै
भाषन ठुलो ठुलो छाटिन्छ
हुट्टी ट्याउले  आकाश आटे झै
आश्वासन ठुला ठुला बाटिन्छ
भुसिया कुकुरबाट
जनताको दिमाग चाटिन्छ
आज एउटा कुरोको सल्लाह छ
भोली अर्कै कुरोको हल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ ।

यो शहरको भित्र  एउटा
बाहिर अर्कै खोल छ
मान्छे पिच्छे यहाँ
मान्छे मान्छे बिच मोल छ
निमुखाहरु बिचरा न हुन
बलिया बाङगाको बोल छ
बाहिर  तडक र भटक सबैको
बुझ्दा भित्र धेरै डामाडोल छ
आजको  भाले त्यो
भोली त त्यो अर्कै  चल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ ।

यहाँ घरै पिच्छे
तुम्बा र ठर्राको भट्टी छ
भट्टी भित्र
मन बहलाउने अधबैसे पट्ठी छ
नगद नारायणलाई स्वागत
उधारो माग्नेलाई कट्टी छ
बहिर छेक्ने पर्दा भए पनि
 भित्र सबै खुलम  खुल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ ।

ठग्नेहरु पनि यही
ठगिनेहरु पनि यही
जती शुद्दता कुरा गरे पनि
खाधान्यमा माटोको डल्ला छ
हिजो पनि
आज पनि
सरकारको सधैं
करबाही गर्छु भन्ने हल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ ।

यहाँ
हरेकको आफ्नै दाउ छ
सोझा साझालाई घुमाउ छ
टाठा बाठाको सधैं भाउ छ
सिधा सादाको गुमाउ छ
लुच्चा लफङ्गाको कमाउ छ
मै हुँ भन्नेको पनि यहा बाउ छ
हिजो केही  नहुनेहरु आज
गगन चुम्बी महलको साहु छ
देखाउने एउटा
बेच्ने अर्कै गल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ ।
· · · Share · Delete

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers