Thursday, April 4, 2013

ओ नयाँ बर्ष

ओ नयाँ बर्ष
आफ्नो यस्तै छ खबर
बरु भन
तिम्रो कस्तो छ हालखबर ?
आफ्नो त आजभोलि
पार्टिले सरकार छोडे पछी
सता र भत्ता तोडे पछी
बिहान योग अभ्यास गरिन्छ
दिनभर खालमा तास हेरिन्छ
साझ परे पछी
कान्छीको भट्टिमा छिरिन्छ
आधिको उधारो खाइन्छ
आधिको मात्र पैसो तिरिन्छ
कहिले उतै परीन्छ
कहिले मध्य रातमा फिरिन्छ
ओ नयाँ बर्ष
तिमी आउँदा
चुनावको मिती लिएर आउनु
नयाँ ठोस निती लिएर आउनु
सरकार चुनावको मिती तोके पछी
पार्टिले प्रचारको उर्दी ठोके पछी
कहिले पार्टिको झन्डा फरफराउदै
कहिले पार्टिको नारा बरबराउदै
कमसेकम समय बित्थ्यो
सके आफ्नै पार्टिले
नसके  अर्कैले भए पनि जित्थ्यो 
अब त कर्मचारिले देश चलाए पछी
साच्चै बेरोजगारी भईएकोछ
नघर गइएकोछ नघाट गइएकोछ
पत्रीका पढ्यो
आफ्नो कतै नाम छैन
कतै हिड्यो
आउने सुको दाम छैन
आजभोली त
सुत्ने भन्दा अरु काम छैन ।

ओ नयाँ बर्ष
चुनावको मिती ल्याउदा
तिमीले पनि
हामीले घरी घरी सारेको जस्तो
मिती नल्याउनु
आझ अर्कै भोली अर्कै भन्ने
रिती नल्याउनु
आफुलाई  त सत्ता च्वाट्ट छोडे पछी
दुर्बेसनीलाई भन्दा गार्हो भा'छ
आफ्नै निर्णय आज
आँफैलाई नै घाडो भा'छ ।
त्यसैले नयाँ बर्ष
तिमी आउँदा जसरी हुन्छ
चुनावको ग्यारन्टीका साथ आउनु
चुनाव हुने  भए पछी
जनतालाई फेरी
अन्तिम माफि माग्दै ढोकिएला
चर्का चर्का नारा ठोकिएला
लोकल कुखराको सपेटा टोकिएला
जिते जितिएला
नजिते पनि
समानुपातिक वाला   पाउने सिद्दिएला
जिते मन्त्री  पाइएला
हारे त झन  प्रधानमन्त्री नै खाइएला
त्यसैले आउँदा
शान्ती नल्याए पनि
बिकास नल्याए पनि
निकास नल्याए पनि
चुनाव त  जसरी हुन्छ  लिएर आउनू  । 


 

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers