पुरानै नेपाल प्यारो भो
मलाई त अब
नयाँ नेपाल भन्दा
पुरानै नेपाल प्यारो भो
किनभने
नयाँ नेपालमा
जनतालाई जिउन झन गाह्रो भो ।
देशलाई हेर्यो
हिजो भन्दा झन लथालिङ्ग छ
बिकासको कुरा गर्यो
निकासको कुरा गर्यो
त्यो झन अझ भाताभुङ्ग छ
पुरानो सबै खराब नहुनसक्छ
तर पुरानो कुरो गर्ने
जडबादी भन्नेहरुको तारो भो
तर अस्ती भन्दा आज
नयाँ नेपालमा
मान्छेलाई जिउन सार्हो भो
त्यसैले होला कि
मलाई पुरानै नेपाल प्यारो भो
मान्छेलाई मान्छेको
न आदर छ न सत्कार छ
एकलाई अर्काको तिरस्कार छ
अहिले
एक जाति
अर्को जातलाई छेक्ने घारो भो
त्यसैले मलाई त
पुरानै नेपाल झन प्यारो भो ।
पार्टीहरु हेर्यो पचास साठी छन
सबै आफ्नै डम्बरु बजाउनेमा खाटीछन
एउटा साइजमा आइ कुप्रन्छ
अर्को बुर्लुक्क फेरी उफ्रन्छ
यो पार्टिले गर्ला कि - उस्तै
अर्को पनि पहिलो जस्तै
सबलाई हेर्यो उस्तै उस्तै
नयाँ नेपाल पनि
जनतालाई खाली
आसा र आश्वासनको उधारो भो
त्यसैले झन
मलाई त पुरानै नेपाल प्यारो भो ।
No comments:
Post a Comment